Listen Live

विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुग्यो,२२ घाइते
Posted On: Mar 12, 2018

विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुग्यो,२२ घाइते

काठमाडौं, २८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज (सोमबार) युएस बंगलाको एक विमान दुर्घटनामा परि मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

बंगलादेशको राजधानी ढाकाबाट आएको विमान अवतरण गर्नेक्रममा विमानस्थलमा दुर्घटना हुँदा अहिलेसम्म ४९ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले बताए ।

उनकाअनुसार ४० जनाको विमानस्थलमै र ९ जनाको उपचारकाक्रममा केएमसी अस्पतालमा मृत्यु भएको हो ।

८ जनाको सिनामंगलस्थित केएमसी र एकजनाको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो । पाइलटको पनि मृत्यु भएको छ ।

२२ घाइतेहरुको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । १६ जनाको केएमसीमा, चारजनाको नर्भिकमा तथा ग्रान्डी र ॐ अस्पतालमा एकरएक जनाको उपचार भइरहेको छ ।

घाइतेमध्ये दुईजना सामान्य घाइतेमात्र रहेको र अरु घाइते अधिकांशको अवस्था गम्भीर रहेको जनाइएको छ ।

विमानमा ६७ यात्री र चारजना चालकदलका सदस्य सवार रहेका थिए । तीमध्ये ३३ जना यात्री नेपाली रहेका थिए ।

यात्रीहरुमध्ये दुईजना बालबालिका, २८ जना महिला र ४१ जना पुरुष यात्री रहेको विमानस्थलले जनाएको छ ।

सो विमान अवतरण गर्नेक्रममा ‘ओभरसुट’ भइ पूर्वतर्फको खोंचमा खसेर दुर्घटना भएको जनाइएको छ । दुर्घटनालगत्तै विमानमा आगो लागेको थियो ।

विमान सोमबार दिउँसो २ बजेर १८ मिनेटमा दुर्घटना भएको थियो ।

Comments
On Air
पुराना लोक दोहोरी गीतहरु
Time: 14:05
Up Next
थाहा वुलेटिन
Time: 15:00