Listen Live

मान्छेसँग घुलमिल हुँदै चीन पठाउने गैंडा
Posted On: Jun 11, 2018

मान्छेसँग घुलमिल हुँदै चीन पठाउने गैंडा

चितवन,  २८ जेठ ।  मित्र राष्ट्र चीनलाई उपहार पठाउनका लागि चितवन राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिइएको गैंडालाई पिट बोमामा राखेर मानिससँग घुलमिल गराइदैछ । गैंडाको आनीबानी, व्यवहार बारे जानकारी लिँदै मासिनसँग घुलमिल गराउनको लागि गैंडालाई पिट बोमामा राखिएको हो ।
चीन पठाउने तीन वटा गैंडालाई राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा निर्माण गरिएको पिट बोमामा राखिएको छ भने एउटा गैंडालाई खुला खोरमा राखिएको छ । खाल्डो खनेर खाल्डोको वरिपरी काठले बारेर निर्माण गरिएको तीन वटा बोमामा तीन वटा गैंडा राखिएको छ । पिट बोमामा राखिएका सबै गैंडालाई करिब दुई महिनाजति तालिम दिएपछि कंक्रिटको बोमामा राखिने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका निमित्त प्रमुख रामकुमार अर्यालले बताए ।
ठूलो बोमामा सार्नु अगाडि ती गैंडाहरुलाई केयर टेकर (स्याहार सुसारमा खटिएमा प्राविधिक)सँग घुलमिल गराइने अर्यालको भनाइ छ । गैंडा ठूलो जनावर भएको कारणले गर्दा यसलाई निरन्तर रुपमा खुवाउनु पर्ने भएकाले प्रत्येक गैंडालाई खाना खुवाउन दुई वटा हेरालु, प्राविधि, दुई जना घाँस काट्ने व्यक्ति, फलफूल खुवाउने तथा हरेक गैंडालाई दिनको तीन पटक भेटेरेनरी डाक्टरले स्वास्थ्य परीक्षण गर्ने गरि व्यवस्थापन गरिएको अर्यालले जानकारी दिए । अरु सम्पूर्ण जिम्मा वन्यजन्तु प्राविधिकलाई दिइएको अर्यालले बताए ।
मन्त्री परिषद्को निर्णय अनुसार चीन पठाउने तयारी सहित तीन वटा गैंडालाई जंगलबाट नियन्त्रणमा लिएर राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको पिट बोमामा राखिएको हो ।

पिट बोमामा राखिएका गैंडाहरुको आनीबानीमा विस्तारै परिवर्तन आएर मानवसँग घुलमिल हुँदै गएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत पूर्वी सेक्टर ईन्चार्ज अभिनय पाठकले बताए । पिट बोमामा राखिएका गैंडाहरु नियमित प्राविधिकहरुको निगरानीमा रहेकाले ती गैंडाहरु घरपालुवा जनावर जस्तै हुँदै गएका पाठकको भनाइ छ ।
करिब दुई हप्ता अगाडि समातेर पिट बोमामा राखिएको गैंडालाई मानवीय व्यवहारमा घुलमिल गराएपछि निर्माणाधिन ठूलो बोमामा राखिने पठकले बताए । प्रकृतिक रुपमा निर्माण गरिएको ठूलो बोमामा राखेपछि चीन पठाउनको लागि सहज हुने पाठकको भनाइ छ । ठूलो बोमाभित्र घाँसे मैदान, पानी पोखरी लगायतको व्यवस्थापन भइरहेको पाठकले बताए ।
गत साउनमा बाढीले बगाएपछि उद्धार गरेर राखिएको एउटा भाले केटोलाई निकुञ्जको खोरमा नै राखिदै आएको छ । त्यो भाले केटो र निकुञ्जबाट समातिएका दुई वटा पोथी र एउटा भाले गरि चार वटा गैंडालाई चीन पठाइने भएको हो । एक वर्षमा एक जोडा गैंडा मात्रै विदेश पठाउन मिल्ने भएकाले आगामी असारमा प्रधानमन्त्रीको भ्रमणसँगै एक जोडा गैंडा पनि चीन पठाउने तयारी भएको बुझिएको छ ।
यद्यपि ती गैंडालाई कहिले चीन पठाउने हो त्यो भने मन्त्री परिषद्ले निर्णय नगरि भन्न सक्ने अवस्था नरहेको निकुञ्जले जनाएको छ । चीन पठाउने गैंडा नियन्त्रण गर्नको लागि र त्यसको आनीबानी बारे जानकारी लिनको लागि केही साता अगाडि चीनिया टोली समेत चितवन राष्ट्रिय निकुञ्जमा आएको थियो । गत वैशाख ६ गतेदेखि गैंडा नियन्त्रणमा चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रतिनिधि सहित ५० जनाको टोली र १० वटा हात्ती परिचालन गरिएको थियो ।

Comments
On Air
पुराना लोक दोहोरी गीतहरु
Time: 14:05
Up Next
थाहा वुलेटिन
Time: 15:00