Listen Live

आफ्नो भाषामा चेपाङ यूवायूवतीहरुको आकर्षण बढ्दो छ अध्यक्ष जितेन्द्र चेपाङ अन्तरवार्ता
Posted On: Jul 11, 2018

आफ्नो भाषामा चेपाङ यूवायूवतीहरुको आकर्षण बढ्दो छ अध्यक्ष जितेन्द्र चेपाङ अन्तरवार्ता

हिरालाल गुरुङ
चितवन, २७ असार । नेपालमा सिमान्तकृत भित्र पर्ने चेपाङ समुदायको संख्या २०६८ को जनगणना अनुसार ६८ हजार ३ सय ९९ रहेका छन् । चेपाङ आफ्नै मौलिक संस्कृति भेषभुषा र सामाजिक रहनसहन भएको जाती हो ।
यस समुदाय गोरखा, धादिङ, चितवन, मकवानपुर लगायत ६ जिल्लामा बसोबास गर्दै आएका छन् । ग्रामिण भेगमा बस्ने यस समुदायको बस्तीमा प्राय भोकमरीले सताइरहन्छन् । पाखोबारीमा उव्जाएको खाधान्नले ३ देखि छ महिना भन्दा बढि खान पुग्दैन । शिक्षा स्वास्थ्य, रोजगारबाट उनिहरु बन्चित छन् । उनिहरुमा जनचेतनाको कमी छ ।
यि यस्ता विभिन्न समस्याहरुका बाबजुत पनि चेपाङ समुदाय आफ्नो भाषा,धर्म र संस्कृतिलाई बचाउन लागि परेका छन् ।चेपाङ भाषा धर्म र संस्कृतिको पहिचानका लागि  के कस्ता प्रयात्न भईरहेका छन्। विशेष गरि चेपाङको भाषाको अवस्था कस्तो छ प्रश्तुत छ नेपाल चेपाङ संघका केन्द्रिय अध्यक्ष जितेन्द्र चेपाङसंग गरिएको कुराकानी

अहिले चेपाङ भाषाको अवस्था कस्तो छ ?
नेपाल चेपाङ संघले केही बर्ष अघि चार ओटा जिल्लाका साविकको ८ गाविसका १६ वडामा भाषाको सर्वेक्षण गरिएको थियो । त्यतिबेला ७५ प्रतिशत चेपाङले आफ्नो भाषा बोल्न जानेको भेटियो। पछिल्लो समयमा नेपाल चेपाङ संघले भाषाका तालिमहरु पनि संचालन गरिरहेका छन् । अहिले नयाँ पुस्ताले पनि बोल्ने गरेका कारण ७५ प्रतिशत बढिले बोल्ने गरेको अनुुमान छ ।

आफ्नो भाषा प्रति चेपाङ समुदायको आकर्षण कस्तो छ ?
पहिलाको तुलानामा केही बर्षयता चेपाङ भाषा प्रति यूवाहरुको आकर्षण बढेको छ ।पहिले देखि नै जो बोल्छन् उनिहरुले त बोल्ने नै भयो, अहिले नयाँ पुस्ताका चेपाङ यूवायूवतीहरुमा पनि आफ्नो भाषा धर्म संस्कृतिबारे अली चासो बढिरहेको पाएको छु ।
धादिङको साविकको पीडा र गजुरी गाविसमा ज्यादै न्यूनले मात्र भाषा बोल्ने गरिन्थ्यो तर त्याहाँ अहिले नयाँ भाईवहिनीहरुले बोलेको हामी पाउँछौँ ।

चेपाङ भाषाको संरक्षण र प्रवद्र्धनका लागि चेपाङ संघले के कस्ता कार्यहरु गरिहरेको छन् ?
प्रचार प्रसारात्मक रुपमा ल्याउनका लागि चेपाङ सांस्कृतिक कार्यक्रम आयोजना गरि चेपाङ भाषामा जिल्ला जिल्लाबीच दोहोरी प्रतियोगिता, जस्तै गोरखा र धादिङ, धादिङ र चितवनबीचको दोहोरी, चेपाङ जातीको कान्छी गीत दोहोरी,झ्याउरे,चेपाङ भाषामा झुकाइसा भनिन्छ (गाउँ खाने ) कथा यस्ता कार्यक्रमहरु आयोजना गरिरहेका छन् । पाठ्यक्रम विकास केन्द्रको सहयोग पाठ्यक्रम निर्माण गरिएको छ । अहिले मैले अघि नै भनिसके भाषा प्रशिक्षण कार्यक्रम पनि बेलाबेलामा संचालन गरिहरेको छ ।

चेपाङ समुदायका प्रमुख चाडपर्वहरु के के हुन् ?
चेपाङ समुदायका चाड पर्व न्वाघी, माघे संक्रान्ति र साउने ,संक्रान्ति हो ।त्यस मध्ये पनि न्वाघी अर्थात चेपाङ भाषामा च्वनाम भनिन्छ । चेपाङ जाती मुख्य गरि प्रकृति पुजक भएकोले आफ्नो खेतबारीमा उत्पादन ,भएका बालीलाई सिमी भूमी, भगवान र पितृलाई चढाएर मात्र खान्छौँ । त्यसकारण हामी मुख्य तय भदौँ २२मा न्वाघी (च्वनाम) मनाउछौँ त्यसपछि साउनेसंक्रान्ति, र माघेसंक्रान्ति हाम्रो मुख्य चाड पर्व हो ।
चेपाङ भाषा धर्म र संस्कृतिको संरक्षणका लागि राज्यको कस्तो भूमिका हुनुपर्छ ?
पहिलो कुरा त चेपाङको भाषा संस्कृति र धर्मको विषयमा सरकारको ध्यानै गएको छैन । आगामी दिनहरुमा चेपाङहरुको भाषा धर्म संस्कृति संरक्षण र प्रवद्र्धनका लागि सरकारले विशेष कार्यक्रम संचालन गरिदिनुपर्दछ । जस्तै चेपाङ भाषाको शब्दकोष निर्माण, गीति एल्बम निर्माण जस्ता कार्यहरुमा सहयोग गरे संरक्षणका साथै नयाँ पुस्तामा हस्तान्तरण हुन्छ । विशेष गरेर कक्षा १ देखि पाँच कक्षा सम्म चेपाङ बाहुल्यता रहेको विद्यालयमा चेपाङ भाषाको कक्षा संचालन गरिनुपर्दछ ।

चेपाङ समुदायको आर्थिक समृद्धिका लागि के गर्न आवस्यक छ ?
राज्यले चेपाङ समुदायका लागि लक्षित कार्यक्रम ल्याउनु आवस्यक छ । चेपाङ समुदाय मुख्य कृषिमा नै आधारित भएकाले कुन क्षेत्रमा के सम्भावना छ ? पशुपालन हुन्छकी ?तरकारी खेती हुन्छकी ? राज्यले त्यसको प्राथमिकीकरण गरि बजार व्यावस्थापन गरिदियो भने चेपाङको आयस्तरमा बृद्धि गर्न सकिन्छ ।
छरिएर रहेका कारण पनि चेपाङ बसतीमा विकासका पूर्वाधार पुग्न नसकेको हो की ?

चेपाङ समुदायको भौगोलिक विकटताका र छरिएर बसेका कारण पनि विकास हुन नसकेको हो । एकपटक हामीले योजना आयोगमा कुरा गरेका थियौँ तर सुनाई भएन ।
आफ्नो जमिन जग्गा पनि उपभोग गर्न पाउने गरि छरिएर रहेकाहरुलाई एकिकृत बस्ती निर्माण गरि राख्न सकियो. भने शिक्षा स्वास्थ्य बाटो–घाटो, खाने पानी लगायत आवस्यक विकासका पूर्वाधारहरु पु¥याउना सजिलो हुन्छ । हामीले धादिङमा प्रयास गरेका छौँ तर सफल हुन सकिरहेका छैनौँ । आवस्यक विकासका पूर्वाधारहरु निर्माणका लागि पनि एकिकृत बस्ती आवस्यक छ । त्यसैले एकिकृत बस्तीका लागि प्रयास जारी छ ।

Comments